सिर्जनाको मूल्य सिर्जनामै हुन्छ : साहित्यकार ज्ञवाली

अन्तरर्वार्ता विचार/ब्लग हेडलाइन २
0Shares

वि.स.२०३० साल साउन १५ गते माता विष्णु कुमारी ज्ञवाली र पिता स्व.तारा नाथ ज्ञवालीका ४ छोरा र ४ छोरी गरी ८ सन्तान मध्ये साइली छोरीको रुपमा पाल्पा जिल्ला रिब्दिकोट गाउपालिका–३ खस्यौली, मालमुलमा जन्मिनु भएकी साहित्य स्रष्टा लक्षिमा ज्ञवाली (घिमिरे) पेशाले त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको उपाप्रध्यापक हुनुहुन्छ ।
साहित्य सिर्जना र साहित्यमा रुचि राख्ने ज्ञवालीसंग साहित्य क्षेत्रमा देखिएका समस्या समाधानका साथै नेपाली साहित्यले पुर्याएको योगदानका ’boutमा पाल्पा खबर डटकम अनलाईन पत्रिकाका लागि नवराज ज्ञवालीले तयार गरेको कुराकानीको सांरसः–

साहित्य क्षेत्रमा यहाँको प्रवेश कसरी भयो ?
सबै मानिस साहित्यप्रेमी हुन्छन् । कोही प्रत्यक्ष रुपमा कोही अप्रत्यक्ष रुपमा मात्रै फरक हुन्छ । मेरो पारिवारिक संस्कार, साहित्यिक सुसंग,उत्प्रेरणा, रुची आत्मविश्वास अभ्यास, धर्म र परिस्थिति जस्ता तत्वले ममा द¥हो जरा गाड्यो फलस्वरुप साहित्य क्षेत्रमा सिकाइको रूपमा प्रवेश गरे ।
साहित्यकारहरु अन्य व्यक्तित्व भन्दा प्रकृति र वातावरणबाट प्रभावित भई देशकाल, परिस्थितिसंगै रहेर वर्तमानमा घटित घटनाका आधारमा रहेर आफ्ना सिर्जना र अभिव्यक्त विचारलाई बाहिर ल्याउने गरेको पाइन्छ नि हैनर ?
सबै मानिसहरूको
व्यक्तित्व वातारणले नै प्रभाव पार्दछ । मानिस परिस्थितिकै दास र मालिक दुबै हुन्छ । म पनि त्यो भन्दा फरक हुन सक्दिन । फरक के छ भने व्यक्तिपरक, आत्मपरक, विषयपरक भावपरक, सर्बहितपरक आदि छन् । हरेक मानिसलाई प्रकृति र वातावरणले सकारात्मक र नकारात्मक प्रभाव पार्दछ । सकारात्मक सोचले मालिक बनाउछ भने नकारात्मकताले दास बनाउदछ । तिनै प्रभावका शक्तिहरुबाट अंकुरित हुदै सिर्जना, विचारहरू सिर्जित हुदै जान्छन् ।
साहित्यकारमा कलमकै मोह हुन्छ भनिन्छ । कलमकै माध्यमबाट संघर्ष गर्दछन् विपरित परिस्थितिसंग जुधेर पनि अनवरत रूपमा आफ्ना सिर्जित विचारलाई कृतिको माध्यमबाट बाहिर ल्याउने गरेका छन् । ती रचिएका विचारभावले पाठकलाई कसरी प्रभाव पारेको हुन्छ त ?
संसारमा भएका जति पनि परिवर्तन छन् ती सबै कलमकै माध्यमबाट भएका छन् । जहाँ कला, साहित्य, संस्कृतिलाई महत्व दिइन्छ त्यहाँ सकारात्मक परिवर्तनहरू सम्भव हुन्छ । साहित्यकारहरूमा कलमको मोह हुन्छ । साहित्यकारले सभ्य समाजको परिकल्पना गरेका हुन्छन् । साहित्यले युगीन चेतनाको गीत घन्काएको हुन्छ । गीत, संगीत, रचना र सिर्जनाले सवैको मन छुन्छ । यसको प्रभाव पाठकले जसरी ग्रहण गर्छ त्यसरी नै आश्वादन गर्दछ ।
४. नेपाली साहित्यमा वर्गभेदी विभाजन भएको पाईन्छ यस्तो अवस्थामा साहित्यलाई प्रगतिशिल, अप्रगतिशिल भनिरहनुभन्दा साहित्यकारहरुले नै विद्धताको आधारमा सिर्जना गरे भयो नि ! यसमा कसैको आपत्ति रहन्छ र ?
सिर्जना जीवन्त हुुनुपर्छ । सिर्जना गर्दा सिद्धान्तमा आधारित भएर गर्नुपर्छ जस्तो मलाई लाग्दैन । साहित्य अथवा सिर्जना स्वतन्त्र रूपबाट पनि प्रतिपादन गर्न सकिन्छ । जस्ले नयाँ कुरा दिन्छ, खोज्छ निरन्तर समाज रुपान्तरणको पक्षमा उभिन्छ,
मानव कल्याणका जुनसुकै पक्षमा वकालत गर्छ, लेख्छ, निकास दिन्छ भने त्यसलाई प्रगतिशिल अप्रगतिशिल के मान्ने । राजनीति दलभन्दा माथि उठ्न सक्नुपर्छ साहित्यकारहरू । लोभ, पाप, इश्र्या, चाकडी चाप्लुसीपन स्वार्थ, कमाइ खाने भाडो वा मगन्ते रूप साहित्यकारमा देखियो भने त्यो पनि माफीयाकै एक अवस्था हो । सिमित स्वार्थ र क्षणिकतामा दौडधुप गरेर लेखिएका कुराहरुले तत्काललाई राम्रो मानेपनि कालजयी हुदैनन् । त्यसैले सिर्जनाले समाजमा सकारात्मक प्रभाव वा परिवर्तनको संबाहकको रुपमा उभिदा, कलमबाट स्वतन्त्र रूपमा विचार भावहरु पस्कदा कसैलाई आपत्ति भयो भने त्यो नितान्त पूर्वाग्रह हो । साहित्कारहरू पूर्वाग्रही हुनुहुदैन भन्ने मेरो धारणा हो ।

वर्गभेदमा अल्झाइन्छ भने कसरी साहित्यकारहरु सर्वहितकारी हुन सक्लान त ?
सिर्जनाको मूल्य सिर्जनामै हुन्छ । कसैले त्यसलाई उचाल्दैमा उचालिने र पछार्दैमा पछारिने हुदैन । अहिले वर्गभेद कतै कतै देखिन्छ । अधिकांश मान्छे जस्तो वातावरणले भरिन्छ त्यस्तै हुन्छ । खान पाए भन्दैमा सुगरको विरामीले चिनी खादा राम्रो हुन्छ र ? लोटामा पानी लिन गएको मानिसले गाग्रीभरी पानीको आश गर्नु व्यर्थ हो ।
साहित्य समाज परिवर्तनको एउटा माध्यम त हो नै तापनि यो नै सम्पूर्ण हो भन्न मिलेन तरपनि परम्परागतमा रहेका यहाँका राजनीतिक दल र राजनीति नै बेठिक हो भने तपाइको विचारमा यसको समाधान के हो त ?
राजनीति नीतिको श्रेष्ठ मानिन्छ । राजनीति आफैमा बेठिक भन्न मिल्दैन । कालो बजार, अपराध, अनियमितता, भष्ट्राचार जस्ता कुराको परम्परागत तथा यथास्थितिको सधै विरोध नै भयो । अहिले पनि ती कुराहरूका रूपमा केही फरक भए पनि सारमा उस्तै छन् । परिवर्तन भयो, विश्वव्यापी प्रभावको असर देखियो तर मान्छेका प्रवृतिमा परिवर्तन भएन । परिवर्तनले खोजेको सभ्य समाज, समुन्नत समाज, सम्मृद्धि हो । यसलाई सकारात्मक पाटोबाट हेर्दा केही भएकै छ । नकारात्मक रूपबाट हेर्दा अनियमितता र भष्ट्राचार त बढेकै छ । साहित्यकारका अाँखा पनि अरुको भन्दा विलकुल फरक त हुदैन । केवल मात्रागत रुपमा धेरैथोरै मात्र हुन्छ । साहित्यकारहरु राजनीति दल र स्वार्थभन्दा माथि उठनुपर्छ सबैले भन्छन् तर तिनै तत्वरूपी हावाको आवरणले छोपिएका हुन्छन् । त्यसैले आचरण, प्रवृति, सोचाई र गराइमा परिवर्तन हुनु आवश्यक छ ।
७. साहित्यमा वौद्धिकताको आधारमा आएका विचार वा सिर्जनाले आम पाठकको मनलाई कसरी छुने र ती रचित भई आएका सिर्जना र व्यक्त भएको भाव विचारलाई आम पाठकले कसरी लिने ?
दर्शन, विचार भावनाले भरिएका सिर्जनाहरुले आम पाठकलाई जसरी आश्वादन ग¥यो त्यसरी नै मनलाई छुन्छ । मोतिका दाना प्राप्त गर्नका लागि समुन्द्रको गहिराइमा नै गएर खोतल्नु पर्छ । उज्यालो खोज्ने मान्छेले उज्यालोपछि अध्यारो सधै आइरहन्छ भन्ने सजिलै छुटयाउन सक्छ । शाश्वत सत्यको उज्यालो विचारले लाखौं उज्यालाहरू थप्न सक्छ । सफल साहित्य त्यो हो जसले सबैको जीवनलाई ज्योतिर्मय बनाउदछ ।
तपाई नेपाली साहित्यमा प्रवेशसंगै धेरै साहित्य संस्थामा आबद्ध पनि हुनुहुन्छ । कुनैमा नेतृत्व पनि लिईरहनु भएको छ संस्थागत हिसाबले हेर्दा वा बुझ्रदा यहाँले नेपाली साहित्यमा कस्तो समस्या रहेको पाउनुहुन्छ ?
साहित्यमा पैसा, भत्ता, ज्याला, तलब केही हुदैन । यो विसुद्ध समाज सेवा हो । यो समाजको ऐना हो । यसमा कुनै दल वा राजनीतिको प्रभाव नपरेमा वा कम परेमा वा तटस्थ भएमा यो सकारात्मक परिवर्तनको संबाहक हो नै तर समस्या कहानिर छ भने यसलाइ पनि माफियाकै जालोले घेरेको छ । यो शुद्ध लाग्थ्या,े यसको मूल्याङ्गन प्रक्रिया ठीक छ जस्तो लागेको थियो तर छैन । जुनसुकै शीर्षकमा बिनियोजित बजेट पहुँच हुनेकै हातमा पर्दछ । साहित्यमा गरिने सम्मानमा पनि वास्तकिता पाइदैन । ऐचोपैचो सम्मान, सामाजिक सञ्जालमा प्रदर्शन धेरै छ । साहित्यमा काम गर्नेको भन्दा नगर्ने आसेपासेकै जमात धेरै देखिन थालेको छ । सम्मान भनेको श्रद्धा हो । यसमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई सम्मान दिनुपर्छ तर सकारात्मक सोचको विकासका नाममा सस्तो लोकप्रियतामा सम्मानको अवमूल्यन भएको छ । केही साहित्यकारहरु सम्मानका भोका र दरिद्री छन् । म पाल्पाको साहित्य क्षेत्रको फाटमा दुई दशक भन्दा बढि सिकाई गतिमा लेख्ने, सुनाउने र भाग लिने गरे । हाल पनि सिकाइमा नै छु किनकि सिकाई जीवनभर चलि नै रहन्छ । साहित्य परिपक्कतामा उमेरसंग पनि जोडेको देखे । सानो उमेरमा गरेको कामलाई राम्रो भए पनि राम्रो भन्न नसक्ने केही जमात छ भने केही जमात उचाल्ने र पछार्ने खालका पनि छन् । हाल म ‘नारी उन्नयन तथा विकास प्रतिष्ठान पाल्पा’ र ‘त्रिमूर्ति निकेतन पाल्पा’को अध्यक्ष छु भने ‘देबकोटा साहित्य परिषद् पाल्पा’ कि उपाक्ष्यक्ष छु । सांगठनिक रूपमा काम गर्न पैसा नभएको सँस्थामा कठिन छ तर काम गर्ने इच्छाशक्ति भएपछि सजिलो र रमाइलो पनि हुदोरहेछ । म काममा विश्वास गर्छु, प्रचारमा होइन । सबैलाई भगवान देख्छु तर अनियमितता र भ्रष्ट प्रवृतिको खुलेरै विरोध गर्छु । स्वाभिमान, निष्ठा र निष्काम काममा भगवान्को साथ रहन्छ भन्ने मलाई पूर्ण विश्वास छ । भगवान् मान्छेभित्रै हुन्छ तर पहिचान गर्न समय लाग्छ । सबै मानिसहरु राक्षसी प्रवृतिका पनि हुदैनन् ।

यी संस्थागत समस्या र चुनौतिलाई चिर्न यहाँले कस्तो भूमिका निर्वाह गर्दै आउनु भएको छ ?
मैले माथि नै केही उल्लेख गरिसकेकी छु । क्षेणिक प्राप्तिको लागि कुनै सम्झौता नगर्ने बरु सबै छोडेर एक्लै बस्ने, सत्यम् शिवम् सुन्दरम्मा रमाउने । मेरो कमजोरी सबैको मनमा भगवान देख्ने छ । व्यक्तिवादी स्वार्थको केही अंश मात्र ममा आयो भने म कुनै संस्थामा बस्दिन । अनुदानमा सम्मान र अभिनन्दन खोज्दिन । आत्मानुशासन मरेको मन पर्दैन । मलाई मेरो अक्षरको शीर झुकेको मन पर्दैन । उज्यालो खोज्ने मान्छे अध्यारो मनभित्र बस्दैन र झुक्दैन । परदोष निन्दा मन पर्दैन तर मन नपरेको कुरा खुलेर अगाडि नै गर्छु । मुखले ठिक्क पार्ने बानी नै छैन । खराब र असललाई जस्तो देख्छु त्यस्तै भन्छु । चिल्लो घस्दिन बरु एकान्तमा नै लेख्न, पढ्न मन पराउँछु । किताव र कपिलाई साथी मान्छु । सबैको हित नै मेरो हित भन्ने मुलमन्त्र नै मेरो प्रमुख मान्यता रहेको छ । पद, सम्मान र प्रचारभन्दा काम त्याग र तपस्यामा रमाउन मन पर्छ । सँस्थामा आइपर्ने समस्या र चुनौती समाधानका लागि सबै सदस्यहरूलाई एक जुट गराइ सबैको सक्रिय सहभागितामा समाधानको उपाय खोज्ने, आर्थिक पारदर्शिता गराउने, देश, काल, परिस्थिति अनुसार परिवर्तन हुने सबैको सहयोगबाट सँस्थालाई योजनाबद्ध तरिकाबाट समस्या र चुनौतीलाई चिर्दै अगाडि बढने प्रयास रहने छ ।


पछिल्लो समयमा नेपाली साहित्यका धेरै विधा केन्द्रित कृति प्रकाशित भई बजारमा आएका छन् ती आएका कृति मध्ये पाठकको रोजाइमा बढी आख्यान, उपन्यास र व्यक्ति जीवनी नै बढी बिक्री भएको बिक्रेता बताउदछन् । के नेपाली साहित्यमा अन्य विधा त्यति पठनीय नभएर हो या पाठकले सन्तुष्टि प्राप्त गर्न नसकेर हो ?
वास्तवमा कृति जन्माउन त्यति सजिलो छैन । प्रसब वेदनाबाटै जन्मिने हो । कुनै समयको लहर यस्तो थियो सबैतिर छन्द कविताको मोह देखिन्थ्यो । अहिले पनि महत्व छ तर आख्यानको तुलनामा कम छ भनौ । मुनामदन सबैको मनभित्र बसेकै छ । पाठकको मन छुने कृति नै पठनीय संग्रहणीय हुन्छ । नेपाली भाषा—साहित्यको क्षेत्र विशाल, ब्यापक एवं गहन छ । नेपाली साहित्यमा सबै विधाको महत्व उत्तिकै छ । समयले कुनै विधा कम र कुनै बढी बनाएको मात्रै हो । अर्कोतिर आज पनि कतिपय स्रष्टाका मूल्यवान् कृतिहरु ओझेलमै छन् । कतिपय सामान्यले पनि चर्चा पाएका छन् । मानिसको परम एवं चरम लक्ष्य सुख शान्ति वा आनन्द प्राप्त गर्नु हो । मानिसले गर्ने सुन्दर कर्मले नै सौम्य जीवन प्राप्त हुन्छ । पाठकको रोजाई पनि यसैभित्र पर्दछ ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?
मेरा विचार, गन्थन राख्ने अवसर दिनुभएकोमा हजुरलाई लाखौ लाख धन्यवाद छ । पाल्पा खबरमा स्थान दिनु भएकोमा सम्पादक लगायत सबै टिमलाई धन्यवाद । सुशासन ,नियमितता,संयमता र सभ्य समाजको स्थापनाका लागि साहित्यकारको कलम चल्नुपर्छ । साहित्यकारहरुले दिन दिन सिक्नुपर्छ ।सहि मूल्याङ्न राज्यले वा समाजले जिउदैमा गर्नुपर्छ । मरेपछि हुने प्रशंसाको कुनै मूल्य हुदैन । राजनीति कलरका आधारमा राम्रो नराम्रो छुट्याउने प्रवृतिको अन्त्य हुनुपर्छ ।

Facebook Comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ